जनकपुर।
१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु शनिबार धनुषाको धनुषाधाम पुग्ने भएका छन् ।
विहीबार कञ्चनवनमा होरी उत्सव मनाइ शुक्रबा पर्वतामा विश्राम गरेका यात्रीहरु शनिवार धनुषाधाम पुग्ने भएका छन् ।
सो क्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ । महेन्द्रनगरमा रहेको क्षीरेश्वरनाथ मन्दिर दर्शन गर्दै यात्रीहरु पर्वताका लागि प्रस्थान गर्ने क्रममा महेन्द्रनगर नगरपालिका अगाडि प्रत्येक वर्ष झैं यस वर्ष पनि परिक्रमा यात्रीलाई महेन्द्रनगरका स्थानीयवासी, व्यापारी, राजनितीकर्मीहरुले भोजन, सरवत र औषधि वितरण गरेका थिए ।
परिक्रमा यात्रीहरुलाई स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी लगायतका जवानहरुको सक्रियतामा भोजन गराइएको थियो । हिन्दुधर्ममा भोजन पश्चात दक्षिणा दिने प्रचलन अनुसार परिक्रमा यात्रीहरुलाई भोजन गराई परिक्रमा यात्रीलाई स्वागत गर्नका लागि बसेकाहरुले नगद दक्षिणा समेत प्रदान गरेका थिए । प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवत सुरु हुने परिक्रमामा सयौं भक्तजनहरू सहभागी हुने गर्दछन् ।
परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइ अन्तगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आइ वास वस्ने चलन छ ।
यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी र त्यस पछि भारत बिहारको कल्याणेश्वर विधिवत् रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।