जनकपुर।
सिरहामा प्रेम गरेर विवाह बन्धनमा बाँधिएपछि एक युवकले श्रीमतीको ह त्या गरेको आरोप लागेको छ । विवाहको महिना दिन नबित्दै ह त्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
कर्जन्हा नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पूजा सिंह भनिने पूजा कुमारी पोदारको ह त्या गरेको आरोपमा पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि उनीहरुबीच प्रेम सम्बन्ध कायम भएको थियो । प्रेममा परेपछि गुपचुपरुपमा दुवैले आ–आफ्ना परिवारजनलाई जानकारी नै नगराई गत माघ २७ मा मन्दिरमा विवाह गरेका थिए ।
गत मंगलवार कर्जन्हा नगरपालिका वडा नम्बर ७ स्थित कमला नदी किनारको काँसघारीमा काठमाडौंको जैशिदेवलकी २२ वर्षीया पूजाको शव फेला परेको थियो ।
सो घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान अमरलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर र पूजाबीच प्रेम झाँगिएको थियो ।
सामाजिक सञ्जालमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका अमर माघ १३ मा नेपाल फर्केपछि माघ २७ मा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । जुन कुरा आरोपीले प्रहरीमा बयान दिएका छन् । विवाह गरेर दुवैजना काठमाडौं बाफलमा कोठा भाडामा लिई बस्दै आएका थिए ।
प्रेमिकासँग विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले नस्विकारेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि उनी फर्केनन् ।
त्यसपछि पूजा फागुन १६ मा अमरलाई खोज्दै जाँदा सिरहाको बस्तिपुर चोक पुगेर प्रेमी अमरलाई फोन गर्दै लिन आउन भनेपछि उनले आफू बाहिर रहेकाले साँझसम्म घर आउने बताएका थिए ।
अमरले पूजा आफूलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीसँग सल्लाह गरेर हत्याको योजना बनाई कमला नदीको किनारमा लगि घाँटी थिचेर ह त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पूजाबारे घर परिवारलाई मनाउन आएकोमा उल्टै उनी धनुषाकी अर्की युवतीसँग विवाह गर्न राजी भएका थिए । तर पूजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले साथीहरुसँग मिलेर उनको ह त्या गरेको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरु भने फरार छन् । फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको सिरहा प्रहरीले बताएको छ ।