जनकपुरधाम।
महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ। अन्य तीनजना गम्भीर घाइते भएका छन्।
बर्दिबास नगरपालिका ५ जंघा पुलमा भएको दुर्घटनामा ट्रक चालक महोत्तरीको बर्दिबास-३ पाटुका ३० बर्षीय रुपेश बरायलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा कन्टेनर चालक ललितपुर महाँकाल गाउँपालिका-३ का ४२ वर्षीय राजु लामा, ट्रकमा सवार सर्लाहीको ईश्वरपुर-१२, घारीबथान बस्ने २२ वर्षीया सुजता खड्का र सहचालक निरज परियार गम्भीर घाइते भएका छन्।
लामालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ भने खड्का र परियारको बर्दिबासको एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
डिएसपी विष्टका अनुसार आज साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम तिर जाँदै गरेको ना.३ ख. ६९६४ नम्बरको ट्रक र विपरित दशाबाट भुस लोड गरेर आउँदै गरेको प्र १-०२-००१ ख ९०९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए।