मधेश प्रदेश।
जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि जानकी मन्दिर परिसरमा सुरु भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्सवले बौद्धिक जमघट गराएको बताए ।
‘साहित्य महोत्सवमार्फत जनकपुर र मधेस प्रदेशलाई चिनाउने काम भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘महोत्सवले भाषा, संस्कृति र साहित्यलाई संसारमा चिनाएको छ ।’ महोत्सवले सामाजिक, राजनीतिक र जातजातिको उत्थानका लागि बहस गर्ने थलो बनेको उनको भनाइ छ ।
ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधामको मुलुकभित्रै प्रचारप्रसार हुन नसकेकामा भने उनले चिन्ता व्यक्त गरे । ‘मधेस र देश नै गौरवान्वित हुने स्थल जनकपुरधामको प्रचारप्रसारमा राज्यले विभेद गरेको छ,’ उनले भने, ‘संघीयतामा मुलुक जानु अगाडि यहाँको धर्म, संस्कृति, धार्मिक स्थलको प्रचारप्रसारमा राज्यले चासो नदिँदा ऐतिहासिक स्थलहरू छायामा परेका छन् ।’
महोत्सवको पहिलो दिन ‘मेरो जनकपुर’ विषयको वक्तृत्व कलामा स्थानीय विद्यार्थी सहभागी भएका थिए । दोस्रो सेसनमा ‘मधेसको झरी नाच’ प्रस्तुत भयो भने तेस्रो सत्रमा लेखक खगेन्द्र संग्रौलाले ‘मधेसमा साहित्य र मञ्च’ विषयमा बहस गरे । कार्यक्रममा जनकपुरका स्वर्गीय तबला वादक शम्भु कर्णका परिवारलाई अमित झा स्मृति पुरस्कारले सम्मानित गरियो । परिवारलाई १ लाख ५ हजार नगदसमेत प्रदान गरिएको छ । गत वर्ष मिथिला फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष अमित झाको निधन भएपछि फाउन्डेसनले झाको स्मृतिमा वार्षिक रूपमा साहित्य र कला क्षेत्रमा योगदान गरेको व्यक्तिलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिन चल्ने महोत्सवमा १२ वटा सत्रमा बहस हुनेछन् । फरक विचार भएका व्यक्तिलाई छलफलको अवसर दिएर जनकपुरको पर्यटन प्रवर्द्धन गर्न महोत्सवको तेस्रो संस्करण आयोजना गरिएको महोत्सव संयोजक प्रियंका झाले बताइन् ।