जनकपुरधाम।
बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै आइतबार स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कार्तिक महिनादेखि हालसम्म कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४–५ महिनासम्म पनि कुनै वास्ता नगरेको भन्दै तालाबन्दी गर्नुपरेको स्थानीय टीका थापाले बताइन् । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको करिब तीन महिनासम्म आर्थिक कारोबार ठप्प भएको छ ।
कार्यालय प्रमुख नहुँदा स्थानीयले योजनाको भुक्तानी लिन सकेका छैनन् भने योजनाको सम्झौता कार्य पनि हुन सकेको छैन । नगरपालिकाले जनताको सेवा सुविधाप्रति लापरबाही गरेका कारण कार्यालयमा ताला लगाएको स्थानीय सुशीला मिजारले बताइन् । उनले भनिन, ‘कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र व्यवस्थापन गरी आर्थिक कारोबार सुचारु गर्नुपर्ने मागसहित कार्यालयमा ताला लगाएका छौँ ।
प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्तासमेत नागरिकले पाएका छैनन् । शिक्षक–कर्मचारीले ४ महिनासम्म तलब खान पाएका छैनन् । यस्तो समस्या हुँदाहुँदै पनि हालसम्म कार्यकारी ल्याउने सुरसार जनप्रतिनिधिले नगरेकोमा उनीहरु आक्रोशित बनेका हुन् ।
नगरपालिकाभित्र विभिन्न ठाउँमा भएका योजनाको काम नागरिकले सम्पन्न गरेर कार्यपालिकामा कागजात बुझाएको दुई महिना हुँदासम्म पनि स्थानीयले ज्याला पाएका छैनन् । ‘पुस महिनामै काम सकेर नगरपालिकामा कागजात बुझाएका थियौँ । तर काम सम्पन्न गरेको लामो समयसम्म पनि योजनाको भुक्तानी पाएका छैनौ,’ थापाले भनिन् ।
सामाजिक सुरक्षा भत्ता समयमा वितरण गर्नुपर्ने, शिक्षक कर्मचारीको तलब समयमा उपलब्ध गरिनुपर्ने र निमार्ण कार्य सम्पन्न गरिएका योजनाको रकम नियमानुसार भुक्तानी गर्नु पर्ने माग स्थानीयको छ ।
यता, बुढीगंगा नगरपालिका उपप्रमुख तारा खातीले कार्यकारीका लागि धेरैपटक मन्त्रालयमा पहल गर्दा पनि अहिलेसम्म टुंगो लाग्न नसकेको बताइन् । लामो समयसम्म जनतालाई दिने सेवामा अवरोध भएको बताउँदै उनले स्थानीयले ताला लगाउनु स्वाभाविक भएको स्वीकार गरिन् ।
उनले भनिन् ‘स्थानीयले ताला लगाएको भन्ने भनेर भर्खर सूचना प्राप्त गरेकी छु । म कामका सिलसिलामा बाहिर रहेकाले भोलि स्थानीयका मागका विषयमा छलफल गर्नेछु ।’
खातीले मेयरले लगनशील भएर काम नगरेको आरोप समेत लगाएकी छिन् । ‘कार्यकारी ल्याउने भनेर मेयर जानुभएको हो, तर उहाँले कार्यकारी ल्याउन सक्नुभएन,’ उनले भनिन्, ‘कार्यकारी ल्याउन भनेर काठमाडौ गएको मान्छे युरोप घुम्न जानुभएछ ।’
जनताको समस्याको मध्यनजर नगरी नगर प्रमुख दीपकविक्रम शाह युरोप गएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।