जनकपुर।
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का रामेश्वर राम दुबईबाट फर्किएकै रात अपहरणमा परे। गत असोज ६ गते उनी दुबईबाट काठमाडौं ओर्लिएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उनी बल्खुको होटल कञ्चनजंघामा पुगे।
ad
उनी होटलमा पुग्नासाथ एउटा समूह आयो र उनले दुबईबाट ल्याइदिएको सुन लग्यो। दुबईमा अप्ठेरोमा परेर फर्किएका रामलाई सुन तस्करले प्रयोग गरेका थिए। तस्करले नै उनी फर्किने हवाई टिकट काटिदिएका थिए। उनी सुनका बाला लगाएर फर्किएका थिए।
तर ती बाला कसको थियो भन्ने उनलाई पनि थाहा भएन। दुबईमा सुन दिने मान्छेले भनेअनुसार नै होटलमा आएका व्यक्तिलाई बुझाइदिए। तर, सुन बुझाएको आधा घण्टापछि अर्को समूह सुन खोज्दै होटलमै आइपुग्यो।
‘खै हाम्रो सुन?’
ad
‘अघि बुझाइसकेँ,’ रामले भने।
‘कसलाई बुझाइस्?’ तर ती सुन लैजाने व्यक्ति को थिए, रामलाई पनि थाहा भएन। उनलाई चिनाएका थिएनन्।
दुबईबाट सुन पठाउने तस्कारले उनलाई भनेका थिए– कञ्चनजंघा होटलमा जानू, त्यहाँ हाम्रा मान्छे लिन आउँछन्, अनि सुन बुझाउनू।
रामले भनेअनुसार नै गरेका थिए। तर, सुन लिन अर्को समूह पनि आयो। सुन नदिएपछि उनलाई ट्याक्सीमा हालेर ठमेलको प्लेजर होम होटलमा लगे। रामलाई होटलको एउटा कोठामा बन्धक बनाएर यातना दिन थाले।
रामले सुन दिन नसकेपछि रातभर कुटाइ खाए। चुरोटले उनको शरीर पोले। तर बिहान ती व्यक्तिहरु रामलाई कोठामै थुनेर भागेछन्। उनीहरु भागेको रामलाई थाहा थिएन। त्यसैले दुई तलामाथिको झ्यालबाट हामफालेर उनी भागे।
त्यसपछि उनी घर फर्किए। त्यतिबेलासम्म पनि प्रहरीलाई घटनाबारे जानकारी थिएन। आफूलाई अपहरण गरेर यातना दिने व्यक्ति को थिए भन्ने रामलाई पनि थाहा थिएन।
पछि ठमेलको होटलमा भएको घटनाको सूचना प्रहरीसम्म पुग्यो। त्यसपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले होटल सञ्चालकलाई पक्राउ गर्यो। होटल र आसपासका सीसीटीभी फुटेजहरु हेर्यो। त्यहीँबाट अभियुक्तको बारेमा प्रहरीले जानकारी पायो। त्यही आधारमा प्रहरीले केही दिनपहिले काठमाडौं तारकेश्वर नगरपालिका–८ का ३२ वर्षीय संजोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गर्यो।
रामलाई अपहरण गर्ने ९ जना रहेको खुलेको छ। तर अरु ६ जना अझै फरार रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरुले दुबईबाटै रामले सुन ल्याउँदै गरेको जानकारी पाएका थिए। त्यहीअनुसार उनीहरुले लुट्ने योजना बनाए। तर पहिल्यै सम्बन्धित व्यक्तिले सुन लगेपछि उनीहरुको योजना सफल हुन सकेन। त्यसपछि रामलाई यातना दिए। यातना दिएको सीसीटीभी फुटेजमा पनि देखिएको छ।
उनका शरीरभरि नीलडाम थिए। रामलाई काठमाडौं झिकाएर प्रहरीले जाहेरी लिइसकेको छ। घटनामा संलग्न तीन जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।