जनकपुर।
प्रमुख सचिव नहुँदा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको अवस्था दयनीय बनेको छ। कार्यालय अनिर्णयको बन्दी बन्दा सरकारका काम प्रभावित भएका छन्।
ad
कार्यालयमा प्रमुख सचिव नहुँदा दर्ता–चलानी लगायतका काम बाहेक अन्य कामहरु प्रभावित बनेका कार्यालयका निमित प्रमुख सचिव मेखबहादुर मगरातीले जानकारी दिए।
सचिव नहुँदा क्याबिनेट बैठक, आर्थिक, अनुगमन, कर्मचारी सरुवा र गम्भीर प्रकृतिका विरामीलाई राहत वितरण लगायको कामकाज एकहप्तादेखि पूर्णरुपमा ठप्प छ । प्रशासनका सामान्य कामकाजको जिम्मेवारी पनि प्रशासन तर्फका सचिव मगरातीले नै सम्हालेका छन्।
अख्तियारको छापापछि बदनाम बनेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम केही दिनअघि समाजिक विकास मन्त्रालयमा समायोजन भएको छ भने ‘मुख्यमन्त्री स्वच्छता अभियान’ खानेपानी तथा उर्जा विकास मन्त्रालयमा समायोजन गरिएको छ।
ad
त्यसैले यतिबेला कामको चाप मुख्यमन्त्री कार्यालयमा घटेको छ। तर, प्रमुख सचिव र अन्य दुई सचिवको अभावमा कार्यालयको दैनिक कार्य सम्पादन फितलो बनेको छ।
मधेस मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव, प्रशासन तर्फका दुई र कानुन तर्फका एक गरी चार सचिवको दरबन्दी छ । तर हाल कार्यालयमा दरबन्दीका एक मात्र प्रशासनिक सचिव मगराती मात्रै कार्यरत छन्।
एक प्रमुख सचिव र दुई सचिव बिहीन छ कार्यालय । झण्डै ६ महिना अघि मुख्यमन्त्री कार्यालयमा आएका प्रमुख सचिव हरिप्रसाद मैनाली एकहप्ता अघि मात्रै सरुवा भएका छन् । उनी मंसिर अन्तिम साता नै रवाना लिएर जनकपुरबाट हिँडेका थिए।
त्यस्तै प्रशासन तर्फका अर्का सचिव यम प्रसाद भुषाल र कानुन तर्फका सचिव टीकाराम पाण्डे पनि एकहप्ता अघि रवाना लिएर गइसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। उनीहरुको ठाउँमा को आउने भन्ने निश्चित छैन । मुख्यमन्त्री कार्यालय स्थापना भएयता प्रमुख सचिवको रुपमा ६ जना सचिव आएर सरुवा भइसकेका छन्।
‘प्रमुख सचिव र अन्य दुई सचिव नहुँदा धेरै गर्नुपर्ने धेरै काम गर्न सकिरहेका छैनौं,’ निमित्त प्रमुख सचिव मगरातीले भने, ‘आर्थिक, सरुवा बढुवा, उजुरीको किनारा लगाउने जस्ता कामहरु प्रमुख सचिवको अधिकार क्षेत्र अन्तर्गत पर्छन्। ती सबै काम अहिले रोएिका छन्।’
४ वर्षमा ६ प्रमुख सचिव
मधेस मुख्यमन्त्री कार्यालय स्थापना भएयता प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन्।
उनीहरुमध्ये प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह र दीपक सुवेदी एकवर्ष बढी कार्याकाल चलाएका थिए। तर त्यसयता आएका सचिवहरु ६–६ महिनामा आउने र जाने क्रम चलिरहेको छ।
सातौं प्रमुख सचिवको रुपमा कृष्ण बहादुर राउतलाई प्रमुख सचिवको रुपमा पठाउने संघीय मन्त्रीपरिषदले निर्णय गरिसकेको छ। तर अहिलेसम्म उनी हाजिर भएका छैनन्।
मुख्यमन्त्री कार्यालय एक हप्तादेखि प्रमुख सचिव विहीन हुँदा प्रदेश सरकारको थुपै महत्वपूर्ण कार्यक्रम प्रभावित भएको सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए।
‘प्रमुख सचिव बिहीन हुँदा प्रदेश सरकारको थुप्रै कामकाज प्रभावित भएको छ । महत्वपूर्ण निर्णय गर्नुपर्ने छ । तर क्याबिनेट बैठक बस्न सकेको छैन। यसरी सरकार अगाडी बढ्नै सक्दैन,’ मन्त्री साहले भने। महिनैपिच्छे प्रमुख सचिव र सचिवहरु आउने जाने गर्दा प्रदेश सरकारले चाहे अनुसारको प्रगति गर्न नसकेको उनको भनाई छ।
अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा थुप्रै सेवासुविधा, मानसम्मान सुरक्षा हुँदा पनि सचिवहरु आउनै नमानेको मन्त्री साहले गुनासो पोखे। ‘प्रमुख सचिवमा कृष्णबहादुर राउत आउने कुरा छ । तर उहाँले पनि आउनै नमानेको सुन्नमा आएको छ’ मन्त्री साहले भने, ‘यहाँ सचिवहरुको लागि थुप्रै सुविधा छ । शान्ति सुरक्षाको अवस्था राम्रो छ। मानसम्मान छ । तर किन होला यहाँ बस्नै चाँहदैनन् ।आउँन समेत मानिरहेका छैनन्।’
सचिवहरु नटिक्दा प्रदेश सरकारको कामकाज प्रभावित हुने गरेको छ। प्रायः मुख्यमन्त्री र मन्त्रीहरुले नै सार्वजनिक रुपमै यस्तो गुनासो पोख्ने गरेका छन्।
nepalkhabar