जनकपुरधाम।
सर्लाहीमा घरघरै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएका छन् । उनीहरू मौसमी फ्लु भन्दै औषधि पसल तथा निजी क्लिनिकको भरमा बसिरहेका छन् । बिरामीमा लक्षण देखिए पनि कोरोनाको जाँच हुन सकेको छैन ।
उनीहरू होमआइसोलेसनमा पनि बसेका छैनन्, जसका कारण एक जनालाई समस्या देखिनासाथ परिवार हुँदै समुदायमा पनि कोरोनाको लक्षण भएका बिरामी बढेका छन् ।
हाल सर्लाहीमा सक्रिय कोरोना संक्रमितको संख्या ३६ मात्र छ । तर स्वास्थ्य संस्थाहरूमा यतिबेला उच्च ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ । उच्च ज्वरो आउनु, घाँटी खसखस हुनु, रुघाखोकी लाग्नु, जीउ कट्कट् खानुलगायत कोरोनाका लक्षण हुन् । यी लक्षण भएका बिरामी जिल्लाका अधिकांश बस्तीमा भेटिने गरेका छन् । कविलासी नगरपालिका–४ का ३५ वर्षीय पुरुषलाई उच्च ज्वरो र रुघाखोकी लागेको पाँच दिन भइसक्यो । उनी औषधि पसलबाट ल्याएको एन्टिबायोटिक र सिटामोलको भरमा अझै घरमै बसिरहेका छन् । उनी जस्तै अन्य बिरामी पनि मौसमी रुघाखोकी र ज्वरो रहेको भन्दै घरमै छन् ।
‘हरेक वर्ष चिसो मौसममा रुघाखोकी लाग्छ, यस वर्ष पनि चिसोले नै लागेको जस्तो भइरहेको छ, पसलबाट औषधि ल्याएर खाँदै छु, विस्तारै निको हुन्छ,’ एक बिरामीले भने । बिरामी बढे पनि स्थानीय प्रशासनले उनीहरूको जाँच बढाएको छैन । जाँच गर्ने स्थान नजिक नभएको लालबन्दीका एक बिरामीले बताए । उनले पालिकामा स्वाब संकलनको व्यवस्थापन भएको भए बिरामीलाई सहयोग पुग्ने बताए । ‘ज्वरोसहित रुघाखोकी आएपछि सबैभन्दा पहिला आफूलाई आइसोलेट गरें, त्यसबाट जोगिने औषधि पनि खाइरहेको छु,’ उनले भने, ‘मौसमी रुघाखोकी अथवा कोरोना नै संक्रमण भइएछ भने एकान्तबासले निको हुने आशा छ ।’
जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले समुदाय स्तरबाट स्वाब संकलन गराउन आउनेको संख्या न्यून रहेको जानकारी दिए । झाका अनुसार स्वाब आउने संख्याका आधारमा ३० प्रतिशतमा संक्रमण फेला परिरहेको छ । उनले होम आइसोलेसनका नाममा संक्रमित घरमा बसे पनि मापदण्ड पूरा हुन नसकिरहेको जानकारी दिए । उनले जिल्ला अस्पतालमा अक्सिजनसहितको कोभिड वार्ड तयारी अवस्थामा रहे पनि त्यहाँ संक्रमित बस्नै नमानेको बताए ।
डा. झाले समुदायस्तरबाट स्वाब संकलन आए कोरोना संक्रमितको संख्या बढी हुने दाबी गरे । कतिपय स्वास्थ्यकर्मी तथा कर्मचारीमा लक्षण देखिए पनि जँचाउन नमानेको उनको भनाइ छ । ‘समुदायस्तरमा कोरोना फैलिएको छ, तर सर्वसाधारण जाँचका लागि आउँदैनन्, कतिपय लक्षण देखिएका कर्मचारीसमेतले जाँच गराउन मान्दैनन्,’ झाले भने, ‘स्थानीय तहले भूमिका नखेलेका कारण समुदायस्तरमा जाँच हुन सकेको छैन ।’