जनकपुरधाम ।
डा. चन्द्रकान्त राउत(सीके राउत) नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जसपा नेतृ समेत रहेकी भौतिक पुर्वाधार मन्त्री रेणु यादवले लिएको भन्दै खुलेआम हत्याको धम्की दिने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेको छ ।
सो पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चरम अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गरी २०६३ सालको गौर नरसंहारमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
सो पार्टीले भनेको छ- नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ । साथै गौर नरसंहारका फरार अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने होइन कि उनीहरुलाई तत्काल पक्राउ गरी नरसंहारका पीडितहरुलाई न्याय दिदै मधेशमा विद्यमान अपराधिक पार्टीको अपराधिक राजलाई समाप्त पार्नु पर्दछ ।
मन्त्री यादवले गौर घटना जसपाले घटाएको स्वीकार गरेको भन्दै उक्त अभिव्यक्ति चरम आपराधिक रहेको र किसान आन्दोलन तथा आम जनताको विरुद्धमा रहेको जनमत पार्टीको निष्कर्ष रहेको पनि विज्ञप्तीमा भनिएको छ ।
माघ ५ मा गते गौरको एक कार्यक्रममा पुगेकी मन्त्री यादवलाई किसान आन्दोलन गरिरहेका जनमत पार्टीले कालोझण्डा देखाएका थिए । कालोझण्डा देखाएको आक्रोस थाम्न नसकेकी मन्त्री यादवले हिसांत्मक अभिव्यक्ति दिएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ ।