जनकपुरधाम।
वीरगन्ज नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण उच्च संख्यामा देखिन थालेको छ । बुधबार सीमास्थित हेल्थ डेस्कमा हालसम्मकै धेरै संक्रमित पुष्टि भएको डेस्ककी प्रमुख डा अनिशा महतोले जानकारी दिइन् ।
महतोका अनुसार बुधबार कूल ४ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा अधिकांश भारतीय नागरिक थिए । उनीहरूलाई भारत नै फर्काइएको छ । उनीहरू नेपालको वीरगन्ज, नारायघाट, काठमाडौं लगायतका सहरमा मजदुरी गर्न आउने श्रमिकहरू भएको महतोले जनाइन् ।
केही महिलाहरू भने भारतस्थित आफ्नो माइती गएर फर्किने वा नेपालस्थित आफन्तको घरमा पाहुना लाग्न आएकाहरू थिए ।
कोरोनाको तेस्रो लहर सुरु भएयता डेस्कमा पहिलो पटक एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा महतो बताउँछिन् । पुस ८ देखि दैनिक १/२ जना संक्रमित पुष्टि हुन थालेकोमा पुस २० देखि दैनिक १०/११ जना संक्रमित फेला पर्न थालेका थिए । डेस्कमा पुस महिनाभरिमा मात्र १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
माघ लागेपछि संक्रमितको संख्या बढ्न थालेको छ । बिहीबार पनि साँझ ४ बजेसम्म २ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण जारी रहेकाले संक्रमित थपिने सम्भावना रहेको उनले बताइन् ।
यसरी कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या बढ्नुले कोरोनाको तेस्रो लहर उच्च बिन्दुतर्फ लाग्दै गरेको संकेत मिलेको डा महतो बताउँछिन् ।