जनकपुरधाम।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनमा सहिद भएकाहरूको परिवारका सदस्यलाई स्थायी रुपमा राहत सहयोग प्रदान गरिने घोषणा गरेका छन् ।
रोजगारबाट बञ्चित रहेका सहिद परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको उनले बताए ।
यस्तै मधेसका सहिद र अन्य आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा मधेस प्रदेशका ५ स्थानमा प्रदेश सरकारले सहिद पार्क निर्माण गर्न लागेको मुख्यमन्त्री राउतले बताए । साथै तथ्यांका छुटेका आन्दोलनका घाइतेहरूको पनि तथ्यांक समावेश गरी उनीहरूलाई सम्मान गरिने बताए ।
बुधबार सहिदका परिवारलाई राहत वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । यस क्रममा उनले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताएका थिए ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रपसद साहले प्रदेश सरकार सहिद परिवारको सम्मान र भरणपोषणका लागि तत्पर रहेको बताए । उनले मधेस आन्दोलनकै बलमा मधेस प्रदेश र मधेस सरकार बनेकाले सहिदहरूको सहादत र घाइतेहरूको योगदान बिर्सन नसकिने बताए ।
आन्तरिक मामिला तथा संचारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानका अध्यक्ष भरत साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रतिनिधि सभा सदस्य रामबाबु यादव र चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य मनिषकुमार सुमन, गीता यादव लगायत नेताहरूले कार्यक्रममा बोलेका थिए ।