मधेश२४,सुनसरी|
चर्चित भारतीय कलाकार खेसारीलाल यादवले सुनसरीको बर्जुमा मंगलबार भएको घटनाप्रती दुःख व्यक्त गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजित बर्जु महोत्सवमा सहभागी हुन विराटनगर आएका खेसारीलालले तोडफोड र आगजनीको घटनाप्रती दुःख व्यक्त गरेका हुन् ।
खेसारीलाल आउने भनेर आयोजकले स्थानीयलाई महंगोमा टिकट बिक्रि गरेको भएपनि उनी महोत्सवमा उपस्थित हुन नसकेपछि मंगलबार आक्रोशित स्थानीयले तोडफोड र आगजनी गरेका थिए ।
आक्रोशित स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो गाडी र मोटरसाइकमा आगजनी गरेका थिए । त्यस्तै उनीहरुले स्टेज, कुर्सीहरु, बाजागाजा समेत तोडफोड गरेको र तोडफोडबाट ठुलो क्षति भएको जनाइएको छ ।
तोडफोड र आगजनीको घटनापछि विराटनगरमै रहेका खेसारीलालले आयोजकको गल्तीका कारण सो घटना भएको आरोप लगाएका छन् । उनले आफू महोत्सवमा सहभागी हुन मंगलबार विहान ७ बजेनै विराटनगर आइपुगेको बताए ।
तर सुनसरी प्रशासनले अनुमति नदिएकाले आयोजकले आफूलाई सहभागी नगराएको र कार्यक्रमका लागि टिकट काटेका स्थानीयलाई सो विषयमा जानकारी नगराउदा घटना भएको दावी गरे । ‘महोत्सवमा मेरो ११ बजदेखिको प्रस्तुती थियो । म बिहान ७ बजेनै विराटनगर आइसकेको थिएँ । जब म विराटनगर आइसकेर त्यत्रो हंगामा भइसकेपछि मात्र आयोजकले टिकट शो राखेको जानकारी पाएँ ।’ उनले भने,‘प्रशासनले कार्यक्रम रद्ध गर्न भनेपनि आयोजकले टिकट बिक्रि गर्दै जनतालाई भ्रममा पार्न खोजेपछि यस्तो घटना भयो । आयोजकले मलाई र जनतालाईनै गुमराहामा राखे ।’
कलाकार खेसारीलालले त्यत्रो घटना हुँदासमेत आयोजक आफ्नो सम्पर्कमै नआएको बताए । ‘जनताको नजरमा म कार्यक्रमका लागि नआएको जस्तो देखिएको छ । तपाईहरुले देखिरहनु भएको छ म आइसकेको थिएँ ।’ उनले भने,‘तर, आयोजकको लापरवाही र जनतालाई बेवकुफ बनाउन खोज्दा करोडौँको क्षती भयो ।’
खेसारीलालले आफूले अहिलेसम्म प्रसंशकलाई निरास नबनाएको र बर्जु महोत्सवका लागि आएपनि प्रशासनले रद्ध गरेको आयोजकले नबताएर ठुलो गल्ती गरेको बताए । उनले तोडफोड र आगजनीबाट भएको सम्पूर्ण क्षती आयोजकले व्यहोर्नुपर्ने र जनताको पैसा फिर्ता गर्नुपर्ने बताए । ‘गल्ती आयोजकको भएकाले सवै क्षती आयोजकलेनै व्यहोर्नुपर्छ ।’ खेसारीलालले भने,‘मेरो गल्ति एक प्रतिशत पनि छैन ।’