मधेश ।
नेपाल राष्ट्र बैंकले दृष्टिविहीनले स्पर्श गरेर चिन्न सक्ने विशेषता भएको दुई रुपैयाँ दरको नयाँ सिक्का बजारमा ल्याएको छ ।
केन्द्रीय बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको २ रुपैयाँ दरको सिक्का पुस ३० गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
यस्तै माथिल्लो भागमा अंग्रेजीमा र तल्लो भागमा नेपालीमा दुई रुपैयाँ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।
सिक्काको अग्रभागको बीचमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले जनाएको छ ।
सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको जनाएको छ ।
त्यस्तै आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरी चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको जनाएको छ ।
सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको तथा सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको केन्द्रिय बैंकले जनाएको छ ।