जनकपुरधाम।
वीरगंजमा हुने चौथो राष्ट्रिय साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताका लागि प्रदेश नं २ को टिममा धनुषाबाट ५ जना छात्राहरु छनाेटमा भएका छन् ।
मिथिला नगरपालिका वार्ड नंं. २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयबाट ८ र ९ कक्षामा अध्ययनरत छात्राहरु प्रदेश २ को हक्की टिममा परेका हुन् ।
प्रदेश २ को टिममा धनुषा बाट ४ जना खेलाडी र १ जना वैकल्पिक गरी ५ जना छन् । त्यस्तै ११ जना महोत्तरीबाट र १ जना पर्सा बाट रहेका छन् ।
धनुषाबाट भुमिका कुमारी महतो, निसा कुमारी महतो, श्रुति कुमारी राय र अञ्जलि कुमारी महतो टिममा रहेका छन् भने मधु कुमारी साह वैकल्पिकमा परेकी छन् ।
सामुदायिक विधालयलाई शैक्षिक र खेलकुदका विषयमा निकै नै कमजोर ठानेको बताए पनि धनुषाको जनता माध्यमिक विद्यालयमा शैक्षिक, खेलकुद, अतिरिक्त क्रियाकलापहरुका विषयमा अग्रणी भूमिका खेल्दै आएको स्थानीय दिवेश कुमार कुशवाहाले बताए ।
विधालयका प्रधानाध्यापक श्याम कुमार यादवले भने, ‘हामीले विधालयमा छात्र र छात्राहरुको हक्की टिम गठन गरेर विधालयमा प्रशिक्षकको सल्लाह अनुसार अभ्यास गराउँदै आएका थियौँ । त्यस्को प्रतिफलस्वरुप उनीहरु छनाेट भएका हुन् ।
स्थानीय श्याम यादव भन्छन्, ‘विद्यालयमा खेलेको देखेर हक्कीप्रति सबैको चासो बढ्दै गएको थियो । धनुषामा हिमालय युवा क्लब, नक्टाझिजको आयोजना र विधालयको अग्रसरतामा हक्की प्रतियोगिता समेत आयोजना भएको थियो ।’ उनले छनाेट भएका पाँच छात्राहरुले समेत प्रतियोगितामा सहभागिता जनाएकाे बताए ।
खेल ४ माघमा सुरू हुनेछ भने १० माघमा समापन हुनेछ । खेलमा जम्मा छ वटा टिमको सहभागिता रहनेछ । एपीएफ, आर्मी क्लब, प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको हक्की टिमबीच प्रतिस्पर्धा हुनेछ ।
