रौतहट।
रौतहट प्रहरीले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको छ । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत पछिल्ला दिनहरूमा बढ्दो कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नागरिकहरुलाई सचेतना गर्ने कार्यक्रम गरेको हो ।
अहिले कोरोनाको जोखिम उच्च रहेकाले नागरिकमा यसको फैलावट नहोस् भन्ने उद्देश्यका साथ प्रहरीले कोरोना सम्बन्धित जनचेतनामुलक कार्यक्रमहरुहरु जिल्लाभरीनै सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यो अभियान अन्तर्गत प्रहरीले मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई निःशूल्क मास्क वितरण गर्ने, कोरोनाबाट बच्ने उपायहरु बारे जानकारी दिदैं सचेत गराउने, सामाजिक दूरीको महत्व बुझाउँदै, अनावश्यक भीडभाड नगर्न सुझाउनेलगायतका क्रियाकलापहरु गरिरहेको उनले बताए ।
‘प्रहरीको एकल प्रयासले मात्र कोरोना रोकथाम र नियन्त्रण सम्भव छैन’, उनले भने, ‘यसका लागि नागरिक, प्रहरीलगायत सबै सरोकारवालाहरु सचेत भएर हातेमालो गर्दै हिड्नुपर्छ । सानो लापरबाहीले पनि कोरोना सर्न र सार्न सकिन्छ भनेर सबै जागरुक भएर लाग्नुपर्छ ।’
उनले कोरोनालाई लापरबाही गरेर नभई सचेत भएर जित्न सकिने भन्दै सबैभन्दा महत्वपूर्ण कुरा मास्कको प्रयोग गर्ने र भीडभाड नगर्ने, नगराउनेमा सबैले जोड दिए ।