जनकपुर ।
जिल्ला प्रशासन कार्यालय धनुषाले भारतीय सीमाक्षेत्र सहित सार्वजनिक स्थानमा ए न्टिजेन बुथ स्थापना गरी नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सिमाना लगायत सार्वजनिक स्थानहरूमा निस्शुल्क ए न्टिजेन टेष्ट बुथ स्थापना गर्ने र नियमित परीक्षण गर्नेर गराउने निर्णय गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे आदेश जारी गरेका छन् ।
कोभिडको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न आदेश दिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य मापदण्ड पाल्न गर्न आग्रह गर्दै २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न तथा सार्वजनिक स्थानहरूमा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेको छ ।
स्वास्थ्य कार्यालयलाई स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई एक हप्ताभित्र खोप लगाउन, पुष २९ गतेदेखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्न, सामाजिक दूरी कायम गर्न, विगतमा संचालन भएका कोभिड उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गर्न, अक्सिजन सिलिण्डरहरू अस्पतालमा ल्याउनसमेत प्रशासनले आदेश दिएको छ ।
यस्तै कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको निस्शुल्क ए न्टिजेन तथा पीसीआर परीक्षणका लागि स्थानीय तह र जिल्ला अस्पतालमा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको छ ।