जनकपुरधाम।
वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जमा जुलुस प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिको अगुवाईमा ‘वीरगन्ज राजधानी बनाऔं’, ‘प्रदेश सरकार खबरदार, वीरगन्ज राजधानी हाम्रो पुकार’, ‘आन्दोलन गर्ने वीरगन्ज, राजधानी जनकपुर कसरी ?’लगायतका नारासहित जुलुस प्रदर्शन गरिएको हो ।
घण्टाघरबाट निकालिएको उक्त विरोध जुलुस महानगर परिक्रमा गरी घण्टाघरमा नै पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग गरेका छन् । विरोध सभालाई सम्बोधन गर्दै काँग्रेसकी नेतृ तथा वीरगन्ज महानगरपालिकाकी उप–प्रमुख सुश्री शान्ति कार्कीले हामीलाई मुख्यमन्त्री नभई राजधानी चाहिएको बताइन् ।
उनले मधेश आन्दोलनको क्रममा मधेशवादी दलका नेताहरुले वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउनुपर्ने प्रतिबद्धता जनाएर अहिले वीरगन्जलाई धोका दिदै जनकपुरलाई राजधानी बनाउन लागि परेको आरोप लगाइन् ।
प्रदेश २ का मुख्यमन्त्री विकास नगरी भ्रष्टाचार गर्न तल्लीन रहेको भन्दै उनले भनिन्, ‘हामीलाई भ्रष्टाचारी मुख्यमन्त्री चाहिँदैन, वीरगन्जलाई राजधानी बनाउनुपर्छ ।’ त्यस्तै उनले वीरगन्जकै मुख्यमन्त्री भएर पनि वीरगन्जलाई राजधानी बनाउन कुनै किसिमको भूमिका निर्वाह नगरेको र आगामी दिनमा मुख्यमन्त्री वीरगन्ज आए त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिइन् ।
यसैगरि नेपाली काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनमा कुनैपनि प्रदेशसभा सदस्यहरुले दबाब नदिएको आरोप लगाए । उनले उद्योग वाणिज्य संघ जनकपुरको सपथ ग्रहण कार्यक्रमको अवसरमा सम्पूर्ण प्रदेशसभा सदस्यहरुले जनकपुरलाई नै स्थायी राजधानी बनाउनुपर्ने भनेर प्रतिबद्धता जनाएर राजधानी तोक्ने बेला भने जनकपुरलाई बनाउनुपर्छ भनेर वीरगन्जलाई धोका दिएको बताए ।
त्यस्तै नेपाली काँग्रेसका अर्का प्रदेशसभा सदस्य शंकर चौधरीले वीरगन्जमा आन्दोलन गर्ने क्रममा मधेशी दलहरुले वीरगन्जलाई नै प्रदेशको राजधानी बनाउने प्रतिबद्धता जनाएपनि अहिले आएर उनीहरु नै जनकपुरलाई राजधानी बनाउन लागि परेकाले उनीहरुले गरेका प्रतिबद्धता पूरा गर्न माग गरे ।
विरोध सभामा सहभागी अन्य वक्ताहरुले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलन गर्ने वीरगन्जमा, सहादत प्राप्त गर्ने वीरगन्जका नागरिक, अनि राजधानी जनकपुर कसरी ? भन्दै वीरगन्जलाई राजधानी नबनाउनका लागि प्रदेश सांसदहरुले चलखेल गरिरहेको भन्दै उनले आरोप लगाए ।
नेपाली काँग्रेस वीरगन्ज महानगर सभापति भोला साह कलवारको सभापतित्वमा आयोजित उक्त विरोध सभामा कांग्रेसका नेता तथा कार्यकर्ता एवं स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।