जनकपुर।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् ।
उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे ।
चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा आयोजित कम्बल वितरण कार्यक्रममा मन्त्री साहले प्रदेशवासीलाई मौसमी विपद्बाट हुने समस्या र पीडा समाधानका लागि प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
सो अवसरमा पाँच सय गरिब तथा निमुखा विपन्न वर्गका परिवारलाई न्यानो कम्बल वितरण गरेको थियो ।
स्थानीय असहाय, गरिब, विपन्न वर्गका परिवारलाई चिसोबाट बचाउन कम्बल वितरण गर्न सहजीकरण गरिएको जनकपुरधाम उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकीराम साहले बताए ।