जनकपुर।
स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् ।
यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।
गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो ।
अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको शीर्षकमा गत आर्थिक वर्षमा लाखौँ रुपैयाँ अनियमितता भएको हो । बिना अख्तियारी नै रकम खर्च गरिएको पाइएको छ ।
नगरप्रमुख रामबाबु यादवले गाडी मर्मत, इन्धन खर्च, खाजा खर्च, विविध खर्च शीर्षकमा जथाभावी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
एउटै आर्थिक वर्षमा उनले एक पटक २ लाख ३ हजार ४ सय २७, फेरि गाडी मर्मत शीर्षकमै ३ लाख ६ हजार ८ सय ८४, मर्मत शीर्षकै थप ७६ हजार ८ सय ४० रुपैयाँ खर्च गरिएको हो । सो खर्चमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
नगर उपप्रमुख मिनाकुमारी यादवले अवलोकन भ्रमणको नाममा ९६ हजार रुपैयाँ, अन्तर्राष्ट्रिय महिला दिवसको नाममा ४ लाख ४३ हजार १ सय ८८ रुपैयाँ, महिला सशक्तीकरण तालिमको नाममा २ लाख ९२ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।
सो नगरपालिकाबाट महिलामा पाठेघरको स्वास्थ्य जाँचको नाममा ८५ हजार ६ सय ९३ रुपैयाँ निकासा गरिएको छ । उनले गरेको यी खर्चमा समेत अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।