धनुषा।
पत्रकार उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा उनको हत्या भएको थियो । पत्रकार सिंहकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ । धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए ।
उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हा सघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह र उनका छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो ।
२०६८ जेठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेका थिए । उमा सिंहकी भाउजू ललिताले राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ वर्ष अगाडि आम माफी पाइसकेकी छिन् भने पासवान अहिले पनि जेलमै छन् ।