जनकपुर।
रामेछापमा बाल यौन दुराचारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचारको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर–२ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई पक्राउ गरिएको हो ।
उनलाई आइतबार दिउँसो ४ बजे मन्थली नगरपालिका वडा–११, गेलु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
आरोपित शिक्षक गुप्तालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ ।
यस्तो छ घटनाको विवरण
गेलुको एक विद्यालयमा स्थायी दरबन्दीमा कार्यरत गुप्ता सोही विद्यालयले उपलब्ध गराएको गेलुको साँवाडाँडा परिसरको आवासीय भवनमा बस्दै आएका थिए । प्रहरीका अनुसार गुप्ताले आइतबार बिहान ७ बजेतिर आफूले अध्यापन गराउँदै आएको विद्यालयकी एक छात्रालाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।
आइतबार बिहानै विद्यालयको बाटो भएर बजारमा दुध बेच्न गएर फर्कदै गरेको समयमा गुप्ताले १५ वर्षीय ती बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको प्रहरीको भनाइ छ । गुप्ताले विज्ञान विषयको उत्तरपुस्तिका देखाउने बहानामा आफू बस्दै आएको कोठासम्म ती बालिकालाई पु¥याएको बताइन्छ ।
उत्तरपुस्तिका देखाउँदै गुप्ताले बालिकाको समवेदनशील अङ्गहरुमा छुने र चलाउने काम गर्न थालेपछि ती बालिकाले प्रतिकार गरेको तर पनि गुप्ताले नछोडेपछि बालिकाले बल प्रयोग गरेर घक्का दिएर त्यहाँबाट भाग्न सफल भएको प्रहरीको भनाइ छ ।