जनकपुर।
कोभिड १९ को तेस्रो लहर सुरु भइसकेको छ, सरकारले भन्नमात्र बाँकी छ । मानिसहरूले बढी उपस्थिति जनाउने भेला, उत्सव, समारोहले कोरोना संक्रमणलाई ह्वात्तै बढाउँछ ।
चाहे ओमिक्रोन होस्, चाहे डेल्टा होस्, चाहे सुरुको होस्, जुनसुकै भेरियन्ट भए पनि जुलुस, भीड, बिहे–ब्रतबन्ध, भोज, महाधिवेशन यी सबै गतिविधिले संक्रमण दरलाई बढाउँछ ।
हामीले अहिले जे गरिरहेका छौँ, त्यसले हामी सजग भइरहेका छैनौँ भन्ने देखाउँछ । हामीले यस अगाडिको भयावह अवस्थाबाट अझै पाठ सिकेनौँ । गत वर्ष त्यति ठूलो महामारी हुँदा, दिनमै २ सयदेखि २५० जनासम्म मानिस मर्दा पनि अहिले हामी छिटै त्यो अवस्थालाई बिर्सिँदा रहेछौँ ।
स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो संख्या धेरै बढिसक्यो होला । शहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो संख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौंंमा पोजेटिभ आउन सक्छ ।
काठमाडौंमा यति बाक्लो र ठूलो जनसंख्या छ, धेरै जनसंख्यामा संक्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा संक्रमितहरु थपिन थालेका छन् । आइसियूमा भर्ना हुनेको संख्या बढेको छ । लक्षण भएका संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।
अहिले बढ्दै गएको संक्रमण रोक्नका लागि मुख्यतः दुईवटा काम गर्नुपर्छ । पहिलो काम– देश बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्छ । होम क्वारेन्टिन सम्भव छ भने होम क्वारेन्टिन, यो सम्भव छैन भने संस्थागत क्वारेन्टिन, होटल हुन सक्ला, सामुदायिक सेन्टर हुन सक्ला । त्यस्ता क्वारेन्टिनहरुमा राख्नुपर्छ । जो पोजेटिभ आउँछ, उसलाई आइसोलेशन सेन्टरमा राख्नुपर्छ ।
अर्को विधि भनेको भिडभाड हुने कुरा अब तुरुन्त बन्द गर्नुपर्छ । अहिलेका लागि स्कुल कलेजहरु बन्द गर्नुपर्छ । मान्छेहरु यति जनाभन्दा धेरै जम्मा हुन नहुने भनेर सरकारले भन्नुपर्छ ।
यी कुरा सरकारले तय गर्नुप¥यो । भिडभाड हुने खालका सबै गतिविधि तत्काल बन्द गर्नुपर्छ । भिडभाड हुने काम राजनीतिक दलले गरेको भनेर छोड्नुहुँदैन । स्कुल कलेजले गरेको भनेर छोड्नुहुँदैन । बिहे, ब्रतबन्ध, भोज भनेर छोड्नुहुँदैन । हामीले अहिले यति गरेनौं भने भोलि संक्रमणको अवस्था खराब दिशातर्फ जानेछ ।
तेस्रो रोकथामको विधि भनेको जहाँ पोजेटिभ भेटिन्छ, त्यहाँ कट्क्याक्ट ट्रेसिङ गर्नुपर्छ । जस्तो महाधिवेशनमा सहभागी माओवादी नेताहरु संक्रमित भए भने त्यो भेलामा सहभागी भएका सबै मानिसको टेष्ट गर्नुपर्छ । त्यसो गरिएन भने उसले अर्कोलाई सार्छ ।
दुई, चार, आठ, सोह्र, बत्तीस, चौसठ्ठी हुँदै यो संक्रमण सर्ने भएकोले जो पोजेटिभ छ, उसलाई छुट्टै राखिहाल्नुपर्छ । टेस्टिङ, आइसोलेशन र क्वारेन्टिन यी तीनवटा विषयलाई एकदमै जोड दिनुपर्छ । कोभिड संक्रमण सुरु भएका बेला यी कुरा व्यवस्थित ढंगले भएको थियो ।
पोहोरको वर्ष मान्छे क्वारेन्टिनमा बसेका कारण संक्रमण सार्नबाट रोकिएको थियो । गत वर्ष हामीले प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकेनौँ । हामीले नेपालको सीमा क्षेत्रमा होल्डिङ स्थल बनाउने भनेर जिम्मा दिएका थियौं । २ अर्ब १४ करोड रुपैयाँमा त्यो बनाउने भनिएको थियो ।
त्यो पनि ७ प्रदेश र एउटा केन्द्रमा गरेर ८ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने भनेको अहिलेसम्म पनि पूरा भएको रहेनछ । सरकारको होल्डिङ सेन्टर तयार छैन भने होटल हुन्छ कि कहाँ हुन्छ त्यो व्यवस्थापन गरिहाल्नुपर्छ ।