जनकपुरधाम।
सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बिक्री गर्न आउने किसानहरूको घुइँचो लागेको छ । प्राथमिक धान खरिद समितिको १६ पुसको निर्णयअनुसार २२ पुसदेखि किसानहरूबाट धान खरिद गर्ने निर्णय गरिएपछि शाखामा धान बेच्न आउने किसानहरूको घुइँचो लागेको हो ।
ट्याक्टरमा धान लोड गरेर शुक्रबार बिहानै धान बिक्री गर्न आएका सिराहाको बरियारपट्टीका किसान निरञ्जन यादवले दिउँसोभरि पर्खिएपछि साँझपख मात्र पालो आएको बताए ।
खरिद समितिको निर्णयअनुसार शाखाको प्रांगणमा खोलिएको खरिद केन्द्रमा धान बेच्न सिराहा, सप्तरीका किसानहरू आएको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिए । शाखा प्रमुख रेग्मीका अनुसार शुक्रबारसम्म केन्द्रमा करिब नौ सय क्विल सोना मन्सुली धान खरिद गरिएको छ ।
शाखाले योपल्ट १५ हजार क्विन्टल सोना मन्सुली र तीन हजार क्विन्टल जिरा धान (कतरनी) खरिद गर्ने लक्ष्य राखेको रेग्मीले बताए । ‘खरिद समितिको निर्णयअनुसार सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार नौ सय दुई रुपैयाँ, जिरा धान (कतरनी) प्रतिक्विन्टल तीन हजार एक सय पचास रुपैयाँ) को दरले खरिद गरिरहेका छौँ ’ उनले भने ।
गत आर्थिक वर्ष २०७७-०७८ मा २२ हजार पाँच सय ७१ क्विन्टल सोना मन्सुली धान खरिद गरेको शाखाले जनाएको छ । धान बिक्री गर्न आउने एक किसानबाट एकपटक वा पटकपटक गरी एक सय क्विन्टलभन्दा बढी धान खरिद नगर्ने र बिक्रीको लागि नागरिकता तथा सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस अनिवार्य गरिएको छ ।