Province2,मधेश२४नेपाल।
वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे शनिबार प्रदर्शन भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका र उपयुक्त स्थान नै वीरगन्ज भएकाले प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो ।
महन्थ ठाकुर नेतृत्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरूको अगुवाइमा शनिबार प्रदर्शन गरिएको हो । वीरगन्जको स्विमिङपुल परिसरबाट सुरु भएको प्रदर्शन आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, विद्यायकहरू होसियार’लगायतका नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सभा सदस्य प्रह्लाद गिरीले प्रदेश २ को राजधानी जनकपुर भए कुनै पनि हालतमा स्वीकार नगरिने बताए । सतारुढ दल जनता समाजवादी पार्टीकै षडयन्त्रअनुसार वीरगन्जलाई प्रदेश राजधानी नबनाएर जनकपुर बनाउन लागिएको दाबी गर्दै उनले भने, ‘वीरगन्ज नै प्रदेश २ का राजधानी उपयुक्त भएकाले मुख्यमन्त्री राउतकै कारण वीरगन्जलाई राजधानी बनाउनबाट रोकिएको छ ।’
यस्तै, लोसपाका अर्का नेता राजेशमान सिंहले मुख्यमन्त्री राउतले नै आफ्नो कुर्सीसँग साटेर जनकपुर राजधानी बनाउन लागेको आरोप लगाए । सरकारकै निर्देशनअनुसार प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुर’ बनाउन तयारी गरेर समिति बनाएको सिंहको दाबी थियो । मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको भन्दै उनले अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको आरोप पनि लगाए ।
सिंहले प्रदेश सरकारको आन्तरिक तयारीअनुसार नै प्रदेश राजधानी टुंगो लगाउन सभामुख सरोज यादवको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीमा पर्साका सांसदलाई नराखिएको दाबीसमेत गरे ।