उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शीर्षकमा थप प्रति क्वीन्टल ४ रुपैयाँ ७७ पैसा थप गरे र मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको मूल्य बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
उखु किसान प्रवर्द्धन शीर्षकमा यो वर्ष किसानका लागि सरकारी अनुदान थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।‘किसानलाई खेतीमा आकर्षण गर्न सरकारले अनुदान थप गरेको हो,’ केसीले भनिन् ।
उखुको लागत भन्दा कम मूल्य तोकेको भन्दै किसानहरुले भने विरोध जनाएका छन् । उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले यो मूल्यमा उखु बेच्दा किसानलाई घाटा हुने बताए ।
‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन’ सर्लाहीबाट उनले टेलिफोनमा भने ।यसअघि उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली नेतृत्वको टोलीले उखुको प्रतिक्विन्टल मूल्य ६५० भन्दा बढी हुन पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।