जनकपुरधाम-
धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रि रहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए ।
प्रदेश २, ०२, ०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ad
ट्यांकी भित्र चेकजाँच गर्दा यादव संग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको डिआइजी ठाडाले बताए ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।