जनकपुर ।
सरकारले जनकपुर–जयनगर रूटमा रेल सेवा सञ्चालना ल्याउने भएको छ । भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल १५ महिनापछि बल्ल सञ्चालनमा आउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ ।
ad
सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपाल ओढाएर राखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताए ।
मन्त्रालयका सचिव ई रविन्द्रनाथ श्रेष्ठले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको जानकारी दिए ।
रेल सञ्चालनमा नआएपछि जनकपुर क्षेत्रका बासिन्दा निरास बनेका छन् । रेल थन्काएर राखेका कारण खिया लाग्न थालेको छ ।