प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ ।
सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई तीन महिनाको लागि निलम्बन गरिएको हो ।प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ ।’
पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
कांग्रेस सिरहाका जिल्ला सभापति यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।
यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति पाण्डेले घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका थिए ।
ज्यान मार्ने धम्की दिएको भन्दै यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी दिएका थिए ।