जनकपुरधाम ।
रेल्वे कम्पनी लिमिटेडमा नक्कली जागिर दिएर मानिसहरुलाई ठगी गरिरहेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सागर कान्त चौधरी छन् ।
महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली बनौली घर भएका चौधरीलाई प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ८ सिता प्यालेस होटल अगाडीबाट आईतवार राति पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिलाई रेल्वे कम्पनी लिमिटेडको नाममा कर्मचारी नियुक्त गरेको नियुक्तिपत्र उनको साथबाट प्रहरीले बरामद गरेको छ ।
ad
प्रहरीका अनुसार चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना, संतोष रायकै नामको शपथ ग्रहण पाना, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना, शंकर यादवकै नामको सपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लि।को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक २ वटा, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद भएको छ ।
लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको चौधरीले प्रहरी समक्ष स्वीकारेका छन् ।
धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिएर चौधरीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनले सयौं व्यक्तिलाई ठगेको प्रहरीको दावी छ ।