जनकपुरधाम।
सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको बन्दका क्रममा रौटहटमा तीन वटा सवारी साधनमा तोडफोड भएको छ । बन्द उल्लंघन गरेको भन्दै सो पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका हुन् ।
राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहाबाट सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीले विभिन्न जिल्लामा बन्द आह्वान गरेको हो ।
मंगलबार साँझ रौतहटको गौर, गरुडा लगायतका स्थानमा जनमत पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका छन् । बन्दका कारण बिहानैदेखि गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन् ।
केही निजी सवारी साधन सञ्चालन भए पनि सार्वजनिक सवारी साधन सञ्चालन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बन्दका क्रममा अराजक गतिविधि गर्दैै हिँडेको आरोपमा रौतहटबाट प्रहरीले जनमत पार्टीका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
उनीहरु सवारी साधन तोडफोडमा संलग्न रहेको प्रहरीको भनाइ छ ।