काठमाडौ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बलात्कारको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी एक महिला दुई दिनसम्म सामूहिक बलात्कारमा परेकी हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले घटनाको अनुसन्धानका क्रममा ७ जना पक्राउ परेको र फरार दुई जनाको खोजी भइरहेको जानकारी दिए।
काठमाडौंमा काम खोज्न भन्दै पुस १२ गते सुर्खेतबाट आएकी महिलालाई मुगुका युवराज बडुवालले काम लगाइदिने भन्दै गेस्ट हाउस लगेका थिए। त्यहाँ उनले मुगुकै अर्का साथी हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरे।
त्यसको भोलिपल्ट थप ७ जनाले युवतीमाथि बलात्कार गरेको पीडितले बताएको एसएसपी गिरीले बताए। तीन फरक फरक गेस्ट हाउसमा पुर्याएर पटक पटक सामूहिक बलात्कार भएको पाइएको प्रहरीको भनाइ छ।
पीडित महिलाको उजुरीपछि प्रहरीले सामूहिक बलात्कारमा संलग्नहरुको खोजी थालेको थियो।
'पीडित महिलाले भनेको आधारमा सीसीटीभी फुटेज, हुलिया आदीका आधारमा सात जना पक्राउ गर्न सकिएको हो' एसएसपी गिरीले भने।
पक्राउ पर्नेहरुमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, दिपक नेपाली, शिबहरी बुढा, सुरेर सेजुवाल र अर्घाखाँचीको गोपाल कुमार शिरिष रहेको प्रहरीले जनाएको छ। थप दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पीडित महिलाको स्वास्थ्य जाँच लगायत गरिएको र अहिले उनको अवस्था सामान्य रहेको एसएसपी गिरीले बताए।