जनकपुरधाम।
प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन प्रदेश सभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो।
बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित 'राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८' गठनको प्रस्ताव पेश गरेका थिए। जसलाई प्रदेश सभा सदस्यहरुले पारित गरेको हो।
समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन्।
`प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी तोक्ने तथा नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न तथा सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया गरी प्रदेश सभामा निर्णयार्थ पेश गर्ने विषय यकिन गरी सभामा प्रतिवेदन पेश गर्ने', समितिको कार्यक्षेत्रबारे सभामुखले प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ।