जनकपुरधाम। प्रदेश नं.२ का सांसदहरूले प्रदेशको नाम र राजधानी तोक्न दबाब बढाएका छन् । शुक्रबार नाम र राजधानीको प्रस्तावमाथिको छलफलमा सहभागी सांसदहरूले कार्यकालको ५ वर्षमा टेक्दा पनि टुंगो नलाग्दा हीनताबोध भएको भन्दै तत्काल सर्वसहमतिबाट टुंग्याउन दलका नेता र सरकारलाई दबाब दिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक परमेश्वर साहले कार्यकालभरि प्रदेशको नाम र राजधानी टुंगो नलाग्दा चौतर्फी प्रश्न उठ्न थालेको बताए । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद सुरेश मण्डलले मधेस आन्दोलनका क्रममा सडकको लोकप्रिय नारा मधेस प्रदेश रहे पनि प्रदेशसभाबाट पारित गर्न चुनौती भएको जनाए । जसपाका सांसद ज्ञानेन्द्र यादवले पहिचानको लामो संघर्ष गरिएको उल्लेख गर्दै उपलब्धिलाई संस्थागत गर्नुपर्ने समय आएको बताए ।
‘प्रदेशको नाम मधेस प्रदेश सर्वसहमतिले टुंगो लगाउनुपर्ने आवश्यकता छ,’ यादवले भने, ‘अहिले टुंगो लगाउन सकेनौं भने दुई तिहाइको सरकारमाथि पनि प्रश्न उठ्न सक्छ ।’ प्रदेशको नाममा व्यापक छलफल र गृहकार्य गरी टुंगो लगाउने समय आएको यादवले बताए । ‘नाम र राजधानी तोक्न नसके मतदाताले प्रश्न उठाउने भएकाले सर्वसहमतिबाट टुंगो लगाउनुपर्छ,’ उनले भने ।
लोसपाकी सांसद रानी शर्मा तिवारीले पहिचान बनाउने मौका पटक–पटक नआउने भएकाले प्रदेश सरकारले फाइदा उठाउनुपर्ने बताइन् । ‘दलहरूको इगोका कारण प्रदेशको नामकरण हुन सकेको छैन,’ उनले भनिन् । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले प्रदेशको मध्य भागमा जनकपुर रहेकोले प्रदेशको राजधानी जनकपुर उपयुक्त हुने बताए । ‘वीरगन्ज देशकै आर्थिक राजधानी हो,’ सांसद चौधरीले भने, ‘वीरगन्ज राजधानी प्रस्ताव गर्नु सांसदहरूलाई बाध्यता हो ।’ राजधानीको अधिकांश संरचना तयार हुने क्रममा रहेकाले जनकपुरलाई नै राजधानी बनाउनुपर्ने उनको तर्क छ ।
जसपा सांसद रामाआशिष यादवले संघीयता संरक्षण र मधेस आन्दोलनको सम्मान गर्न प्रदेशको नाम मधेस र राजधानी जनकपुर तोक्नुपर्ने दाबी गरे । मधेस प्रदेशको कुनै विकल्प नरहेकाले सर्वसहमति गर्न उनले आग्रह गरे । लोसपा सांसद जानकीशरण साहले प्रदेश २ ले नाम तोक्न नसक्दा संघीयता नै बदनाम हुने भएकाले प्रदेशसभाबाट तत्काल नाम र राजधानीको प्रस्ताव पारित गर्न दलहरूसँग आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) की सांसद मञ्जु यादवले प्रदेश सभाबाट प्रदेशको नाम असफल भएकाले सरकारले साझा प्रस्ताव ल्याउन माग गरिन् । ‘प्रदेशसभाबाट असफल भएको प्रस्ताव नै पुनः प्रदेशसभामा दर्ता गराएर सांसदहरू फट्याइँ गरेका छन्,’ सांसद यादवले भनिन्, ‘हामी सांसदसँग झूटो बोल्ने ? एउटै सरकारमा बसेर प्रदेशको नामकरणमा दलहरू एकमत नहुनु दुःखद हो ।’ सरकारमा भएका दलहरूले एकमत भएर प्रस्ताव ल्याउन उनले माग गरिन् ।
शुक्रबार प्रदेशसभा सचिवालयको आठौं अधिवेशनको तेस्रो बैठकमा नेकपा एमालेकी सांसद सारदादेवी थापाले प्रदेश २ को नाम जानकी प्रस्ताव गरिन् । सांसद थापाले तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको हुनाले सोही नाम फेरि प्रस्ताव गरेको बताइन् । ‘तत्कालीन नेकपाबाट हामीले जानकी नामको प्रस्ताव दर्ता गराएका थियौं,’ उनले भनिन्, ‘अब पार्टी दुई वटा भयो । एमालेले जनक प्रस्ताव गर्ने तयारी गरेको थियो ।
‘जनकको नामबाटै जनकपुर भएकाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको छु । महिलालाई पनि सम्मान हुने गरी प्रस्ताव गरेको हुँ,’ उनले भनिन् । थापाको प्रस्तावलाई नेकपा एमालेकै सांसद किसोरी साह कमलले समर्थन गरे । बिहीबारको बैठकमा एकीकृत समाजवादीले पनि जानकी नाम नै प्रस्ताव गरेको थियो । बिहीबारको बैठकमा नामकरणका लागि चार वटा प्रस्ताव दर्ता भएका छन् । जसपा, लोसपा र माओवादी केन्द्रले मधेस प्रदेशको प्रस्ताव गरेका छन् भने कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ ।