जनकपुधाम।
आज बस्ने प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।
एमालेको तर्फबाट प्रदेशसभा सदस्य शारदादेवी थापाले नामकरणको प्रस्ताव पेश गर्नेछिन् भने उनको प्रस्तावको समर्थन अनिताकुमारी यादव र किशोरी साह कमलले गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।
प्रदेश सांसद थापाले प्रदेशको नामकरणका लागि `जनक प्रदेश´ प्रस्ताव दर्ता गराएकी छन्।
यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा पाँचवटा प्रस्तावमा चारवटा नाम पेश भएको थियो।
सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा छुट्टाछुट्टै मधेस प्रदेश प्रस्ताव पेश गरेका थिए। प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले जसपाको प्रस्तावलाई समर्थन गरेको थियो।
अर्को सत्तारुढ दल कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव पेश गरेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले जानकी प्रदेश प्रस्ताव पेश गरेको छ।
प्रदेशसभाको आह्वानमा गत बैशाख ९ गतेसम्ममा प्रदेशको नाम र राजधानीका लागि दलहरुले प्रस्ताव दर्ता गराएका थिए। नामकरणका लागि ६ वटा र राजधानीको लागि ७ वटा प्रस्ताव दर्ता भएको थियो।
नामका लागि दुई दलले छुट्टाछुट्टै मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जनक प्रदेश र मध्य मधेस प्रदेश दर्ता गराएका थिए। राजधानीको लागि जनकपुरधामको पक्षमा ५ र वीरगञ्जको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको थियो।
राजधानीको प्रस्ताव भने प्रदेशसभामा सातौं अधिवेशनमै पेश भएको थियो।
प्रदेशसभाका सचिव यादवले आज एउटा नामकरणको प्रस्ताव पेश हुने र त्यसपछि नाम र राजधानीको प्रस्तावमा छलफल हुने कार्यक्रम रहेको जानकारी दिए।