धनुषा — प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय अध्यादेश स्वीकृत गर्न पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रदेश सभामा उपस्थित विपक्षी दलका लोकतान्त्रिक समाजवादी पार्टी र एमालेका सांसदहरू बाहेक अन्य दलका सांसदले अध्यादेशको पक्षमा समर्थन जनाएका थिए ।
प्रदेश सभाबाट अध्यादेश स्वीकृत भएपछि ६ महिनाभित्र सरकारले प्रदेश सभाबाट विधेयक पारित गर्नुपर्ने प्रावधान रहेको प्रदेश सभा संसद् सचिवालयका सचिव रन्जित यादवले बताए ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार प्रस्ताव दर्ता गराएका थिए । साहको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । अध्यादेश ल्याएपछि विपक्षी दलका सांसदरूले सरकारले प्रदेश सभाको अधिकार हनन् गरेको भन्दै विरोध गर्दैआएका छन् ।
प्रदेश सरकारले सप्तरीमा कृषि विश्व विद्यालय र पर्सामा प्राविधिक विश्वविद्यालय स्थापन गर्न अध्यादेश ल्याएको हो ।