जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्।
मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत नै जित्ने जिकिर गरेका छन्। मतदाताहरुको माया, ममता, स्नेह तथा विगतमा गरेका र भोलि गर्ने कामको आधारमा मतदाताहरुले आफूलाई नै मत दिने उनको दावी थियो।
उनले पहिलो प्रदेश अधिवेशनमा मतदाताहरुले उत्साहपूर्वक मतदान गरिरहेको बताए।
त्यस्तै शेखर कोइराला र विमलेन्द्र निधि समूहबाट सभापतिमा उम्मेदवारी दिएका रामसरोज यादवले प्रदेश २ का मतदाता आफ्नो पक्षमा रहेको दावी गरे। उनले प्रदेशका मतदाताहरुसँगको कुराकानी गर्दा सबैजसोले आफूलाई मत दिने बताएको जिकिर गरे।
रामसरोजले आफूलाई प्रदेश २ का आठ जिल्लामात्र नभई देशभरकै मान्छेले चिन्ने दावी गरे। ‘मेरो कार्यशैलीबाट परिचित छ, मेरो स्वभाव र चरित्रबाट परिचित छन्’, उनले भने, ‘कार्यकर्ताहरुसँग समयमा सधैँ भेटघाट हुने गरेको छ।’
उनले राम्रै मतान्तरले आफू सभापतिमा जित्ने दोहो¥याए। रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री हुन्।