जनकपुरधाम।
नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ ।
जनकपुरधाम स्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो ।
तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।
उनले मतपत्र छपाइको काम पूरा हुन नसकेको भन्दै मतदान स्थगित गरिएको बताए ।
सभापतिमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादव छन् भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवलाई उम्मेदवार बनाइएको छ ।
यसैबीच सभापति शेरबहादुर देउवा पक्षले आजै निर्वाचन गर्नुपर्ने भन्दै नारावाजी गरपछि झडपको अवस्था सिर्जना भएको छ ।
निधि र कोइराला पक्षले भने भोलि निर्वाचन हुनुपर्ने अडान लिएपछि झडपको अवस्था निम्तिएको हो ।
झडको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था साम्य पारेको बताइएको छ ।