जनकपुर –
सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।
मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ ।
ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।