जनकपुर ।
सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न उम्मेदवार हुन चाहने नेताहरुलाई निर्देशन दिएको छ ।
पार्टीको भातृसंगठन प्रेस जनमत संघका अध्यक्ष बीपी यादवका अनुसार चुनावको विषयमा छलफल गर्न बसेको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन दिएका हुन् ।
वडाध्यक्षको उम्मेदवारका लागि सवा लाख, पालिका अध्यक्ष तथा मेयरका लागि प्रति वडा सवा लाख, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपैयाँ व्यवस्था गर्न पार्टीले निर्णय गरेको यादवले बताए ।
अध्यक्ष राउतले बैठकमा भने, ‘चुनावमा जो जो उम्मेदवार बन्छ, त्यसलाई पार्टीले एक रुपैयाँ दिने छैन । चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता किन्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’
त्यस्तै, दुई दिनदेखि धनुषाको ढल्केबरमा चलेको जनमतको विस्तारित केन्द्रीय समितिले कभरेज अभियान सफल भएको निस्कर्ष निकालेको छ ।
तराई मधेशमा मेचीदेखि महाकालीसम्म संगठन बनेको समेत ब्रिफिङ भएको छ । जनमत पार्टीले हालसम्म २ हजार ४ सय ६७ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशनका लागि पार्टीले कभरेज अभियान चलाएको थियो ।
अब पार्टीले चुनावकेन्द्रीत बुथ मजबुत अभियान चलाउने निर्णय गरेको छ । ‘अपन बुथ सबसे मजबुत’ अर्थात् आफ्नो बुथ सबैभन्दा बलियो भन्ने नाराका साथ सो अभियान चलाउन लागेको संघका अध्यक्ष साहले बताए ।
बुथकेन्द्रीत अभियानका लागि केन्द्रीय नेताहरु चाँडै खटिने छन् । यसरी चुनावको मिति घोषणा नहुँदै सीके राउतले चुनाव प्रचारप्रसार सुरु गरिसकेका छन् ।