जनकपुर ।
प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार एक समारोहका बीच विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष यादवले कृषि शिक्षा महत्वपूर्ण शिक्षा रहेको बताए । ‘कृषिमा धेरै क्षेत्र छन् । यसको अध्ययन, अध्यापन शुरु भए यहीँबाट धेरै कृषि विज्ञ उत्पादन गरेर कृषिलाई राम्रो बनाउन सकिन्छ’ उनले भने ।
कृषि विश्वविद्यालयलाई अगाडि बढाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै उनले विश्वविद्यालयको भवन निर्माण यसै वर्षदेखि शुरु गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको गौरवको रुपमा यो विश्वविद्यालय स्थापना हुने बताए । प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने उद्देश्यले विश्वविद्यालयको स्थापना अघि बढाएको उनले बताए । चाँडै वीरगञ्जमा पनि विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गरिने उनले बताए ।
समय अभावका कारण अध्यादेश मार्फतै यो दुवै विश्वविद्यालयको काम अघि बढाइएको भन्दै उनले कृषि विश्वविद्यालयले एक वर्षभित्रै फड्को मार्ने विश्वास दिलाए ।
विश्वविद्यालयको काम अघि बढाउन राजविराजस्थित दलित छात्रावास भवनमा यसको कार्यालय राखिएको छ ।
‘तत्काल काम अगाडि बढाउन यहाँ कार्यालय राखिएको छ । चाँडै आफ्नै भवनमा यसको कार्यालय स्थापना हुन्छ’ कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने ।
कार्यक्रममा अर्थ मन्त्री शैलेन्द्र साहले यो विश्वविद्यालयको विकासका लागि प्रदेश सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।
सोही अवसरमा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका बैद्यनाथ महतोलाई कुलपति समेत रहेका मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका छन् ।