जनकपुर ।
ऐतिहासिक धार्मिक नगरी जनकपुरधाममा कुनै समय मठ–मन्दिरको अधिनमा ६ हजार बिघाभन्दा बढी जग्गा थियो । २३ वटा गुठी मातहतका मठ–मन्दिरको नाममा रहेका सो जग्गामध्ये करिब ५ हजार बिघा जग्गा अतिक्रमणको चपेटमा परेका छन् ।
मन्दिरका महन्तदेखि पूजारी लगायतले मठ–मन्दिरका नामका सार्वजनिक जग्गा हड्पेर व्यक्तिको नाममा दर्ता गराएका छन् ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक स्थलका जग्गा अतिक्रमण अहिले पनि रोकिएको छैन । अतिक्रमित भएका मठ–मन्दिरको जग्गामा अहिले ठुल्ठुला होटल, महल तथा मल लगायतका भवन अनधिकृत रुपमा ठड्याइएको छ ।
राजनीति र सामाजिक पहुँचको बलमा संस्थाको नाममा मात्र नभई व्यक्तिहरुले पनि सार्वजनिक जग्गा कब्जा गरेका छन् । जनकपुरधाममा मठ–मन्दिरका जग्गा अतिक्रमण र दोहन सबैभन्दा बढी भएको छ । गुठीको अधिनमा रहेका यस्ता जग्गा अतिक्रमण गर्न तथा गराउन यहाँ सम्बन्धित सरोकारवालाहरु स्वयं लागिपरेको आरोप स्थानीयहरुले लगाउँदै आएका छन् । मन्दिरको जग्गा अतिक्रमणमा मठाधीश, सन्त–महन्तहरु स्वयं सक्रिय छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ का सुभाष कर्णले जनकपुरधामका अधिकांश पोखरी अतिक्रमण भएको दाबी गरे । उनले भने, ‘सार्वजनिक पोखरी रहेको ठाउँमा अहिले निजी भवन ठड्याइएका छन् । पोखरी सौन्दर्यीकरण हुनुपर्ने ठाउँमा नेता तथा भूमाफियाहरुको घर सौन्दर्यीकरण गरिएको छ ।’
मिथिला माहात्म्य कृतिमा ७२ तलाव, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदी रहेको उल्लेख छ । यसमध्ये केही लोप भएका छन् भने केही भूमाफियाको हातबाट बेचिने क्रम अझै पनि जारी छ ।
सरकारले २०६२ सालमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद अन्तर्गत तत्कालीन जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, पोखरी डिल, रामजानकी लगायत मुख्य मन्दिर तथा गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उच्चस्तरीय कार्यदल बनाएको थियो ।
कार्यदलको प्रतिवेदनमा विभिन्न गुठीको जग्गा जमिन ६ सय ५० भन्दा बढी परिवारले हड्पेर भोगचलन गरिरहेको उल्लेख छ । १६ वर्ष यता १० प्रतिशत थप घर त्यस्ता जमिन अतिक्रमण गरी बनाइएको गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठप्रसाद रेग्मी बताउँछन् ।