जनकपुर।
सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा एक बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।
स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो ।
शिशुको जन्म करिब एक साता अघि भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएकोे छ ।
अवैध सम्वन्धका कारण बच्चा जन्मेकाले समाजिक डरका कारण आमाले घर लैजान नसकी बाटोमै छोडेर हिँडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।
अहिले शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । उनले बच्चाको अवस्था सामान्य रहेको पनि बताए ।
बच्चा कसको हो र किन फालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।