जनकपुर ।
धानबाली भित्र्याएपछि रौतहटका किसानलाई यतिखेर हिउँदे बाली अर्थात् तोरी र गहुँ छर्ने चटारो छ । तर रासायनिक मलखादको अभावमा किसानहरुलाई तोरी तथा गहुँ छर्न समस्या भइरहेको छ ।
सहकारी संस्था मार्फत सरकारले किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मार्फत आपूर्ति गर्ने गरी स्थानीय तहको सिफारिसको आधारमा किसानलाई सहुलियत दरमा वितरण गर्न सहकारी संघ संस्थाहरुलाई अनुदानमा मलखाद दिने गरेको छ ।
तर पछिल्लो समयमा किसानलाई सहुलियत दरमा उपलब्ध गराउन अनुदानमा पाउने रसायनिक मल रौतहटका सहकारी संस्थाहरुले किसानलाई नदिई कमिशन लिएर अन्य नीजि पसलमा बिक्री वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन् ।
किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा रौतहटका एक सहकारी संस्थाले अनुदानमा पाएको रसायनिक मल अन्यत्र बिक्री गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका छन् ।
जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्याशी देवनारायण भगत बीनका छोरा धीरेन्द्र भगत बीनले सञ्चालन गरेको आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण गर्न भनी सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।
सञ्चालक भगतले स्थानीय श्याम बीज भण्डारका सञ्चालक श्याम साहसंग उक्त मलखाद बिक्री गरेको किसानहरुले बताएका छन् । किसान राम विनोद यादवले मंगलवार राती श्याम बीजभण्डारमा मलखाद किन्न जाँदा त्यसका सञ्चालक श्याम साहले २४ सय पर्ने प्रति बोरा डिएपी ३ हजार ३ सयमा बिक्री गरेपछि आयुष कृषि सहकारीका सञ्चालक भगतले श्याम बीजभण्डारसंग मल बिक्री गरेको खुलाशा भएको थियो । ।
सञ्चालक भगतको बदमासी एवं लापरवाहीका कारण किसानहरु सस्तोमा पाउने मलखाद चर्को मूल्य तिरेर किन्न बाध्य छन । कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रसायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेको किसानहरु आरोप लगाएका छन् ।
बुधवार बिहान सयौंको संख्यामा गएका किसानहरु सहकारी कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । सहकारीका अध्यक्ष भगतलाई हदैसम्मको कारवाही गर्नुपर्ने, किसानको भावनासंग खेलवाड गर्ने सहकारी संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफूहरुलाई समयमा पर्याप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरु आन्दोलनमा उत्रेका छन ।