जनकपुरधाम ।
केपी शर्मा अोली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका धनुषाकै रघुविर महासेठले ‘विवाह पञ्चमीमा रेल चल्छ’ भनेको तीन वर्ष वित्यो । पछि उनी मन्त्रीबाट हटाइए । उनको ठाउँमा प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङलाई मन्त्री बने ।
मन्त्री नेम्वाङले गत जेठ १९ मा काठमाडौंमै पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कोरोनाका कारण जारी निषेधाज्ञा हटेलगत्तै रेल सञ्चालनमा आउँछ ।’ यो धारणा राखेको केहि समयपछि मात्र ओली सरकार ढल्यो । त्यसपछि सरकारको नेतृत्व गर्ने अवसर शेरबहादुर देउवाले पाए ।
वर्तमान देउवा सरकारमा रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी छन् । देउवा सरकारले ओलीले नियुक्त गरेका रेल्वे विभागका प्रबन्ध निर्देशक गुरु भट्टराईलाई हटाएर निरञ्जन झालाई नियुक्त गर्यो ।
तर ०७७ असोज २ मै अर्थात १४ महिना अगाडी सरकारले खरिद गरेर ल्याएको दुई सेट रेल अझै सञ्चालनमा आउन सकेका छैन ।
जनकपुर– जयनगर (कुर्था) सम्म ३४ किलोमिटर रेल्वे ट्रयाक तयार छ । रेल्वे स्टेशन र अन्य भौतिक पूर्वाधार पनि निर्माण सकेर भारतीय कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
इनर्वा स्टेशनमा थन्काएर राखिएको रेलमा खिया लाग्न थालेको छ । रेलको कतिपय पार्टपूर्जा समेत विग्रिसकेको प्राविधिकहरु बताउँछन् ।