जनकपुरधाम।
भारतको सहयोगमा जनकपुर-जयनगर रेलमार्ग निर्माण शुरु भएसँगै जनकपुरसहित पूर्वी धनुषाका नागरिकको अनुहारमा खुसी देखिएको थियो।
विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ ।
पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन ।
“घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्यौँ, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी हेर्न जाने गरेको विगत सम्झँदै भन्नुभयो, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द भएसँगै त्यसयता म मेला भर्न जनकपुर गएकी छैन ।” पछिल्ला तीन वर्षयता चाँडै रेल चल्ने कुरा सुन्नुभएका उहाँ सुनेको साँचो नहुँदा आफ्नो रेल चढेर विवाहपञ्चमी उत्सव हेर्न जाने रहर अधुरै रहेको बताउनुहुन्छ ।
सियानकीदेवी मात्र नभएर सो बस्तीका अगुवा चौठी सर्दार बाँतर पनि रेल चल्न छाडेपछि विवाहपञ्चमी मेला हेर्ने रहर दबाएर राखिएको बताउनुहुन्छ । चाँडै रेल चले एकपटक अझै चढेर रामजानकी विवाह महोत्सव हेर्ने रहर ७५ वर्षीय चौठीको छ ।
महोत्तरीसहित आसपासका जिल्लामा जनकपुरमा आयोजना हुने विवाहपञ्चमी उत्सव खास सांस्कृतिक पर्वका रुपमा मानिँदै आइएको छ । यस सांस्कृतिक उत्सवमा सहभागी हुन केही दिन पहिले नै घरको कामको चाँजो मिलाउने प्राचीन मिथिलाको चलन छ ।
“किशोर, युवा र अधेड (४० – ६० वर्षसम्म) मात्र नभई हिँडडुलमा सहारा नै चाहने वृद्धवृद्धा पनि विवाहपञ्चमी मेला हेर्न जान्थे”, प्राचीन मिथिलाको उत्सव परम्परा नजिकबाट नियाल्नुभएका मैथिल संस्कृतिविद् कामेश्वर झा भन्नुहुन्छ, “मेला हेर्न रेल चढेरै जनकपुर जाने कुरा सबैका लागि रमाइलो मानिन्थ्यो ।”
पछि २०५२ सालमा सशस्त्र जनयुद्ध प्रारम्भ भएपछि मेला जाने भीड पातलिँदै गएर २०५८ मा जनकपुरबाट पश्चिम चल्ने रेल चल्न छाडेपछि भने विवाहपञ्चमीको ‘क्रेज’ घट्दै गएको ७० वर्षीय झाको अनुभव छ ।
अबको पछिल्लो पुस्ताले पुराना सांस्कृतिक उत्सवबारे चासो कम गरेपछि यहाँ विवाहपञ्चमी चर्चा पनि निकै पातलिएको बलवा नगरपालिका–१० धमौराका झाका अन्य समवयको ठम्याइ छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिकाबाट पश्चिम लागेपछि शुरु हुने महोत्तरी जिल्लाका हालका लोहारपट्टी, बलवा, भङ्गाहा र औरही नगरपालिका क्षेत्रका बस्तीमा दुई दशकअघि जनकपुरबाट पश्चिम बिजलपुरा स्टेसन (अन्तिम रेल स्टेशनलाई बिजलपुरा भनिन्थ्यो) सम्म चल्ने रेल नै एक मात्र यातायातको साधन थियो ।
अरू बेला दिनको एकपटक चल्ने सो रेल विवाहपञ्चमी मेलाका बेला चारपाँच दिनसम्म भने तीनपटक आउने–जाने र खचाखच मान्छे भरिने दृश्य अझै आँखामा नाचिरहेको औरही, भोइल बस्तीका ७० वर्षीय मोहन महतो बताउनुहुन्छ ।
पछिल्ला तीन वर्षदेखि फेरि रेल सेवा चल्ने चर्चा सुन्दा लोहारपट्टी नगरपालिका, खुट्टा बस्तीकी रामरती सदालाई पनि एकपटक रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने धोको छ । अब चाहिँ रेल चढ्न पाइने भइयो भनेर फुरुङ्ग पर्नुभएका सदाको रहर चर्चाको ‘हल्ला’ भित्रै हराएको छ ।
भारतको जयनगरदेखि धनुषा, जनकपुरको कुर्थासम्म ‘रेल लिक’ तयार भएर २०७४ विवाहपञ्चमीमै रेल सेवा शुरु हुने चर्चा निकै बाक्लो चलेको थियो ।
“तेसुर अगहनमें विवाहपञ्चमी मेलामें जयनगर स कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” (परार मङ्सिरमै जयनगरबाट कुर्थासम्म रेल चल्ने निकै चर्चा थियो) सदाले भन्नुभयो, “मुदा चाइर साल सऽ चलल चर्चा चर्चेमें समटागेल” (तर चार वर्षदेखिको यो चर्चा अझै रुमलिएको छ) ।
Share this: