जनकपुरधाम ।
तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने सहमति बनेको थियो ।
सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।
आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।
सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गतको यो ठाउँमा अधिवेशन भइरहँदा प्रदेशका मन्त्री सिंह गएपछि विवाद उत्पन्न भएको थियो ।
मन्त्री सिंह पक्षका अनुसार संघीय सांसद अमरेस सिंह पक्षीय कार्यकर्ताले निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिई आफूखुशी माइन्यूट गर्न खोजेका थिए ।
यसो नगर्न आग्रह गरेपछि आफूहरुमाथि अमरेश पक्षीय कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमण गरेपछि अंगरक्षकले गोली चलाएको मन्त्री पक्षको भनाइ छ ।
संघीय सांसद अमरेश सिंह भने यो कुरा मान्न तयार छैनन् । क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित भएपनि मन्त्री साह ६ वटा गाडीमा दलबलसहित प्रदेश निर्वाचन क्षेत्र (ख) मा गएर माइन्यूट खोस्न खोजेको उनले बताए ।
‘अधिवेशन भइरहँदा दलबलसहित आएका मन्त्री सिंहले माइन्यूट खोसे’ अमरेशले भने, ‘उनले बाहुबली बनेर बिहारी शैली अपनाउन खोजेका छन् ।’
मन्त्री सिंहले नै माइन्यूट खोसेपछि धक्कामुक्की भएको र सोही क्रममा उनका अंगरक्षकले गोली चलाएको अमरेशको दावी छ । उनी आफू घरमा रहेको बेला घटना भएको बताए ।
क्षेत्र नम्बर ४ का सभापति रामआश्रय साह आफू घट्नास्थलमा नभएपनि अमरेश सिंह पक्षधर कार्यकर्ताले आफ्ना मान्छेलाई बलजफ्ती समितिमा राखेर माइन्यूट गरिरहेपछि मन्त्री पुगेको बताउँछन् । मन्त्री पुगेपछि अमरेशका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि मन्त्रीका अंगरक्षकले गोली चलाएको उनले बताए ।
गोली चलेपछि बलरा नगरपालिकाको वडा नम्बर ८ र ९ को अधिवेशन स्थगित गरिएको छ ।