जनकपुर।
आज बिहान जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
नेपालगन्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदु बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जारकोटले जनाएको छ।
जिप्रका जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार आज बिहान सबा २ बजे बस सडकबाट झण्डै डेढ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
‘बसमा सबार ३३ जनामध्ये दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। बाँकी २८ जना यात्रु घाइते छन्,’ डिएसपी थापाले आइतबार बिहान भने, ‘घाइतेमध्ये तीनजनाको अवस्था ग म्भीर छ। २५ जना खतरामुक्त छन्। हामी अहिले पनि मृतक र घाइतेको उद्धारमा खटिइरहेका छौँ।’
अहिलेसम्म मृतक पाँचैजनाको सनाखत हुन नसकेको डिएसपी थापाले बताए। दुर्घटनामा ज्यान गुमाउनेमा एकजना महिला, एकजना बालक र बाँकी ३ जना पुरुष छन्।
घाइते २८ जनाकै अहिले जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ‘ग म्भीर घाइते ३ जनालाई थप उपचारका लागि बाहिर पठाउने तयारी हुँदैछ,’ थापाले भने।
बाक्लो हुस्सु लागेको कारण चालकले बाटो नदेख्दा बस पल्टिएको प्रहरीको अनुमान छ।
‘दुर्घटनास्थल अप्ठ्यारो ठाउँमा छैन। अँध्यारोमा हुस्सुको कारण चालकले सडक नदेख्दा दुर्घटना भएको जस्तो देखिन्छ,’ थापाले भने, ‘सम्म ठाउँमा दुई बल्ड्याङ पल्टिएपछि भने बस भिरालो ठाउँबाट तल खसेको छ।’