जनकपुर।
ad
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै भेटिएको अत्यधिक उत्परिवर्तित (म्युटेट) कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्ट (भेरियन्ट अफ कन्सर्न) को रुपमा राखेको छ।
यो भेरियन्टको नाम ओमिक्रोन राखिएको छ। अत्यधिक उत्परिवर्तित भएको र प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्ल्यूएचओको निष्कर्ष छ।
यो भेरियन्ट गत नोभेम्बर २४ मा सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो। त्यसका साथै अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यसको संक्रमण देखिएको छ। नयाँ भेरियन्ट देखिएसँगै धेरै मुलुकले अहिले दक्षिणी अफ्रिकाका मुलुकसँगको सीमा बन्द गरेका छन्।
कुनै पनि भाइरस उत्परिवर्तित हुनु नौलो कुरा होइन तर यसरी उत्परिवर्तित हुँदा संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा त्यस किसिमको उत्परिवर्तित भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा लिइने गरिएको छ।
डब्ल्यूएचओले नयाँ भेरियन्टबारे थप जानकारीको लागि केही साता लाग्न सक्ने बताएको छ।