जनकपुरधाम ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारले नियुक्तिको काममा ढिलाइ गरिरहेको गुनासो गरेका छन् ।
पार्टी प्रवेशको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका नेपालले उक्त कुरा बताएका हुन् । उनले सरकारले नियुक्ति फटाफट गर्नुपर्ने बताए ।
‘विभिन्न पार्टीको आफ्नो आफ्नो कामको व्यस्तता छ । कसैलाई महाधिवेशन लागेको छ भने कसैलाई संगठन विस्तार र संगठन निर्माणमा जुट्नुपरेको अवस्था छ’ उनले भने, ‘तैपनि अरु कुरा भन्दा राज्यसँग जोडिएका कामहरुलाई छिटो भन्दा छिटो गर्नुपर्दछ ।’
नेपालले चुनाव अलग अलग गर्दा खर्चिलो हुने बताउँदै एउटा प्रदेशमा तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताए । ‘यसो गर्दा उम्मेदवारलाई पनि खर्च कम हुन्छ सरकारलाई पनि खर्च कम हुन्छ’ उनले भने ।
राष्ट्रिय सभामा गठबन्धन दलका साझा उम्मेदवार जिताउने तय भइसकेको बताउँदै उनले उपनिर्वाचनमा पनि मिलेरै जाने तथा स्थानीय प्रतिनिधि र प्रदेश चुनावमा पनि मिलेरै जाने आफूहरुको योजना रहेको बताए ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियामा मंगलबार आयोजना गरिएको कार्यक्रममा नेपालले एकीकृत नेकपा माओवादीका नेता रामचन्द्र झालाई पार्टी प्रवेश गराए । सो अवसरमा नेपाली कांग्रेसका नेता डा. अजय झासहितका नेता पनि सो पार्टीमा प्रवेश गरे ।