जनकपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनकनन्दिनी सीताको जन्मस्थलीमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताउनुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको एक कार्यक्रमबीच समुदघाटन गर्नुहुदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्राचीन ऋषिहरुको ज्ञान, विवेचना र मीमांसाको यो थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथाजस्ता विकृति विसंगति हुनु दुःखको विषय हो ।’
अष्टावक्र, याज्ञवल्क्य, गार्गी र मैत्रेयीजस्ता विद्वान विदुषीहरुको साधनाको केन्द्र रहेको यस भूमिमा यी विकृति विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेकोले उहाँले बताउनुभयो । इतिहासबाट प्रेरणा लिदै वर्तमानमा हामीले यो अन्त्यको लागि प्रयास गर्न जरुरी छ उहाँले भन्नुभयो ।
यहाँ तीनसय वर्षभन्दा पुरानो रहेको संस्कृत विद्यालयले हाम्रो देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान गरेको बताउनुहँुदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘शैक्षिक जागरणका अग्रदुत बालागुरु षडानन्दले समेत अध्ययन गरेको यहाँको शैक्षिक केन्द्रको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’ यहाँ रहेको नेपालकै पहिलो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन भ्रमण समेत उहाँले गर्नुभयो ।
देशको आर्थिक समृद्धि हासिल गर्न अन्न भण्डारको रुपमा परिचित यस क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले कृषि क्षेत्रको समग्र विकासबाट थप रोजगारी प्रवद्र्धन भई असुरक्षित रोजगारीका लागि विदेश पलायनबाट युवालाई रोक्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
पूर्व–पश्चिम राजमार्गले यस जिल्लालाई छोएकोले यहाँ विकासका पूर्वाधारहरु विस्तार गर्नसके पर्यटन व्यवसाय फस्टाउन सक्ने चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “यहाँका ऐतिहासिक शहर बजारहरुको सौन्दर्य बढाई जनताको सहज बसोबासका लागि खानेपानी, गुणस्तरीय सडक, विद्युतीकरण, सञ्चार सुविधा, ढल निकास र हरियाली प्रवद्र्धनमा ध्यान दिनुहोस् ।”
जनताको विकास आकांक्षाहरुलाई मूर्तरुप दिन जनप्रतिनिधिहरु लागिपर्नु खुशीको कुरा रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जनआकांक्षालाई आत्मसात् गरी स्थानीय सरकार जनताका आवश्यकतालाई सम्बोधन गर्न अग्रसर हुनु खुशीको विषय हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै विकास निर्माण प्रक्रियाले मूर्तरुप लिइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरुले पनि लागु गर्नुपर्नेमा जोड दिनुभयो । तराईको दिगो विकासका लागि बाढी र डुवानको समस्या हटाउन जरुरी रहेको बताउनुहँुदै उहाँले यसका लागि नदी नियन्त्रण र चुरे दोहन रोकी चुरेको संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख मोहम्मद लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेश सरकारले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको बताउनुहुँदै मानव सूचकाङ्कमा कर्णालीभन्दा पनि पछिपरेको बताउनुभयो । प्रदेश २ लाई सीमित स्रोतसाधनको वावजुद सुधारको दिशामा अगाडि बढिरहेको बताउनुभयो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, प्रदेशसभा सदस्य अभिराम शर्मा, रानी शर्मा, सुरिता साह, जैनुल राईन, जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहलगायतको उपस्थिति थियो ।